धनगढी: कञ्चनपुरमा आफ्नै श्रीमानको हत्या गरेको भन्दै एक महिलालाई पक्राउ गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोट बस्ने ४९ वर्षीय सियाराम रानाको हत्या गरेको आरोपमा उनकी श्रीमती ४३ वर्षीया जनककुमारी राना पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार बिहीबार साँझ साढे ७ बजेको समयमा सियारामको शौचालयमा लडेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर आएको थियो। तर अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको हो।
त्यसपछि उनकी पत्नीलाई हत्या आरोपमा समातिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए।
‘मृतक लडेको भनिएपनि उनी शौचालयमाको ठाउँमा नभई केही टाढा ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा भेटिएका थिए,’ जोशीले भने, ‘ट्वाइलेट र बाथरुम हेर्दा लडेको जस्तो देखिएको थिएन्। मृतकको टाउकोमा काटिएको जस्तो चोटहरु देखिएका थिए। प्रहरी मृत्यु नभएर हत्या भएको हो भन्ने निष्कर्षमा पुगिसकेको थियो।’
उनका अनुसार ठाउँठाउँमा रगत पनि भेटिएपछि उनकी श्रीमती जनककुमारीलाई सोधपुछ गरिएको थियो। सोधपुछका क्रममा जनककुमारीले श्रीमान–श्रीमतीबीच बिहान झगडा भएको र दिउँसो श्रीमान् सुतेको अवस्थामा इट्टाले टाउकोमा हानी हत्या गरेको प्रहरीले जनाएको छ।
अनुसन्धान गर्दा खाटमुनी रगत लागेको ईटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए।
उनलाई त्यसपछि नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरिएको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।