धनगढी: सुदूरपश्चिममा प्रदेश सरकारको बजेट खर्च निराशाजनक देखिएको छ। चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्नै लाग्दा पनि प्रदेशको बजेट खर्च निराशाजनक देखिएको हो।
आर्थिक वर्ष सुरु भएको दुई महिनापछि बजेट ल्याएको सरकारले बजेट खर्च बढाउन सकेको छैन। प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार मंसिर १० गतेसम्मको बजेट खर्च ९.२२ प्रतिशत छ।
त्यसमध्ये पूँजीगत खर्च ६.५७ प्रतिशतमात्र छ। यो अवधिमा सरकारले तीन अर्ब ९६ लाख रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ।
सरकारले चालुतर्फ एक अर्ब ७७ करोड ६४ लाख र पूँजीगततर्फ एक अर्ब २३ करोड ४२ लाख खर्च गरेको छ। चालुतर्फको खर्च १३.८१ प्रतिशत छ। सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ।
कुल बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब ८५ करोड ७४ लाख र पूँजीगततर्फ १८ अर्ब ७६ करोड २३ लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको छ। कुल बजेटको ५९.३२ प्रतिशत पूँजीगततर्फको बजेट छ।
आर्थिक वर्ष सुरु भएको करिब दुई महिनापछि गत असोज ६ गते सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश सरकारको बजेट पारित भएको थियो। ढिलोगरी बजेट आएकाले अधिकांश योजनाहरु कार्यान्वयनमा जान सकेका छैनन्। जसले यस वर्ष बजेट खर्च घट्ने देखिएको छ।