धनगढी: कञ्चनपुरको महेन्द्रनगरमा थानेश्वर लेखकले आफूमाथि कुटपिट भएको बताएका छन्। लेखकले आज (शनिबार) बेलुका भीमदत्त नगरपालिका ६ स्थित ऐठपुर क्षेत्रमा आफूमाथि कुटपिट भएको बताएका हुन्।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उपमेयर निलम लेखक जोशीले योजनाबद्ध रुपमा मान्छे लगाएर आफूलाई कुटाएको भन्दै उनको सामाजिक सन्जालमा रुवाबासी नै चलेको छ। नगरपालिकामा कार्यरत दमकल चालक हरिश साउदलाई लगाएर मेयर र उपमेयरले कुटाएको लेखकको आरोप छ।
यस्तै लेखकले आफू भोलि प्रहरीमा मुद्दा दिने पनि बताएका छन् भने उता उपमेयर निलमले भने कुटपिटको विषयमा आफूलाई केही थाहा नभएको बताईन्। उनले सो विषयमा आफूले खण्डन गर्ने जनाएकी छन्।
कुटिएका लेखक हालै सम्पन्न वडा नम्बर ६ को उपनिर्वाचनमा वडाध्यक्षमा उम्मेदवार बनेका थिए। पूर्व काङ्ग्रेस नै रहेका उनी स्वतन्त्र उम्मेदवार बनेपछि डेढ सय मत प्राप्त गरेर पराजित बनेका थिए। निर्वाचन समयबाटै उनी मेयर र उपमेयरविरुद्ध आलोचना गर्दै आएका थिए।