धनगढी: कैलालीको धनगढीमा प्रहरीले २ जना भारतीयलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीले सुनजस्तो देखिने ५४९.२०० ग्राम वस्तु, नगद र अन्य सामग्रीसहित दुई जनालाई पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका–३, ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गरिएको भारतीय नम्बर प्लेटको सो गाडीबाट उक्त सामग्री फेला परेको हो।
कैलाली प्रहरीका प्रमुख पदम बहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले युपी ३२ जेभी ९२०० नम्बरको गाडी चेकजाँच गर्दा सुन जस्तो देखिने वस्तु, एक थान ल्यापटप, दुई थान मोबाइल, नेपाली रुपैयाँ ४४ हजार ८१० र भारतीय रुपैयाँ १ हजार २८० फेला पारेको छ।
गाडीका चालक, भारतको पलियाका ४४ वर्षीय दिपक गुप्ता र सोही गाडीमा सवार ३४ वर्षीय सुमित वर्मालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले बरामद सामग्रीको वैधता र उक्त वस्तु सुन हो या होइन भन्नेबारे प्राविधिक परीक्षण गर्न तयारी गरिरहेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उदेश्यले सुन तस्करी गरि ल्याइएको खुलेको छ।
पक्राउ परेका मध्येका सुमित बर्माले भारतकाे पलियामा सुनचाँदीकाे व्यवसाय गर्दै आएकाे प्रहरीले जनाएको छ ।