कञ्चनपुर: गृहमन्त्री रमेश लेखककै गृहनगर भीमदत्त नगरपालिकामा भूमाफियालाई संरक्षण दिएको आरोपसहित स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले नगर विकास समितिको अतिक्रमित जमिन फिर्ता ल्याउन गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँदै तत्काल कारबाहीको माग गरेका हुन्।
भीमदत्त नगर विकास समितिको ६३८ बिगाहा ८ कट्टा १३ धुर जमिन विगत लामो समयदेखि भूमाफियाहरूले हिनामिना गर्दै आएको छ। यसबारे अदालतले दोषी ठहरिएका तत्कालीन अध्यक्ष र कर्मचारीहरूलाई करोडौंको बिगोसहित जेल सजायको फैसला गरेको थियो।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र रवि लामिछानेको कार्यकालमा सरकारी अतिक्रमणमा परेका जमिन फिर्ता ल्याउन गृहमन्त्रालयले निर्देशन दिएको थियो। सो निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्वदलीय बैठकमार्फत अतिक्रमित जमिन खाली गराउने निर्णय गरेको थियो। केही जमिन नगर विकास समितिको स्वामित्वमा फर्काइएको भए पनि अधिकांश जमिन अझै अतिक्रमणकै अवस्थामा छ।
तर, गृहमन्त्री रमेश लेखकको कार्यकाल सुरु भएयता अतिक्रमित जमिन खाली गराउने काम रोकिएको भन्दै स्थानीय युवाहरूले विरोध जनाएका छन्। उनीहरूले “भूमाफियालाई संरक्षण कहिलेसम्म, गृहमन्त्री ज्यु?” लेखिएको व्यानरसहित प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीको मागहरु
भीमदत्त नगर विकास समितिको सरकारी जमिनमा बनेका अवैध संरचना तत्काल भत्काउनुपर्ने।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्वदलीय र सर्वपक्षीय निर्णयलाई कार्यान्वयन गर्नुपर्ने।
भूमाफियाहरूलाई संरक्षण दिने काम रोक्न सरकारको कडा हस्तक्षेप हुनुपर्ने।
स्थानीयहरूले भूमाफियाविरुद्धको कारबाहीमा गृहमन्त्रीको मौनताले शंका उत्पन्न गराएको आरोप लगाएका छन्। यस विषयमा गृहमन्त्रालय र स्थानीय प्रशासनले कुनै प्रतिक्रिया नदिएको भन्दै आक्रोश थप चुलिएको छ।