काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देल भारत भ्रमणमा गएका छन्। भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि आज अपरान्ह भारतको राजधानी नयाँ दिल्लीतर्फ गएका हुन्।
भ्रमणको क्रममा भारतीय राष्ट्रपतिले भारतीय सेनाको मानार्थ महारथी दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ। भारतीय उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट र त्यहाँको सैन्य एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम कवाजमा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री चीनको औपचारिक भ्रमणमा जानुअघि मंसिर ५ गते भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आएका थिए। सो क्रममा सिग्देललाई भारत भ्रमणको निम्तो दिएका द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको दर्जाबाट सम्मान गरेका थिए।
सेनापतिको १० सदस्यीय टोली आज नेपाल एअरलाइन्सको उडान नम्बर आरए २१७ मा दिउँसो त्यता गएको हो। टोलीमा उहाँकी धर्मपत्नी नीता क्षेत्री सिग्देल, उपरथी अनुप जंग थापा, सहायक रथीहरु डा. नम्रता महरा रावल र पूर्णबहादुर खत्री, प्रमुख सेनानी सुरज रावत र सेनानी राजेश श्रेष्ठ छन्।
त्यसैगरी छोरा आशुतोष सिग्देल, भावना थापा र रेन्कु रेग्मी पनि भ्रमण टोलीमा रहेको बताइन्छ।