धनगढी: कैलालीको टीकापुर विमानस्थल सञ्चालनमा आउने भएको छ। तत्कालीन जनआन्दोलनको कारण २०४६ सालमा बन्द भएको यस विमानस्थल ३५ वर्षपछि सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ।
टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल सञ्चालनको तयारी पूरा भएको नगर प्रमुख रामलाल डगौरा थारुले बताएका छन्। उनका अनुसार तारा एयर र यती एयरसँगको सहकार्यमा विमानस्थल सञ्चालन हुन लागेको हो।
आगामी आइतबार (मंसिर ३०)तारा एयरको जहाजले पहिलो उडान गर्ने बताइएको छ। त्यसपछि दोस्रो उडान बिहीबार हुनेछ।
नगरपालिकाले तारा एयरसँग प्रत्येक उडानमा १५ सिटको सुनिश्चितसहितको सहमति पनि गरेको छ। नगरप्रमुख थारुका अनुसार टीकापुरबाट काठमाडौँ आउने यात्रुलाई तारा एयरको जहाजले नेपालगञ्ज र यति एयरको जहाजले नेपालगञ्जबाट काठमाडौँ ल्याउनेछ। यसरी नेपालगञ्जलाई मिनी ट्रान्जिट बनाएर एकतर्फी भाडा दर नौ हजार कायम गरिएको छ।