नेपालगञ्ज – नेपालगञ्जमा होटल व्यवसाय गर्दै आउनुभएकी बैजनाथकी लक्ष्मी योगीलाई चुनावमा भाग लिन गाउँ जाने तर्खरमा हुनुहुन्छ ।
बैजनाथ गाउँपालिका–२ निवासी उनी अरु बेला नेपालगञ्जमा होटल व्यवसाय गरे पनि भोट हाल्न गाउँ जाँदा रमाइलो हुने बताउनुहुन्छ ।
बाँकेको नेपालगञ्ज र कोहलपुरमा पेशा तथा व्यवसाय गरेर बस्दै आएका अधिकांश सर्वसाधारण आ–आफ्नो गाउँमा फर्किसकेका छन् । आसन्न निर्वाचनमा मतदानको लागि आज साँझसम्म सबैजसो सर्वसाधारण आ–आफ्नो गाउँ फर्किसक्ने होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले जानकारी दिनुभयो ।
उहाँले नेपालगञ्जमा होटल व्यवसाय गर्दै आएका अधिकांश व्यवसायी आ–आफ्नो गाउँमा भोट हाल्न पुगेको जानकारी दिनुभयो । होटल व्यवसायी चुनावमा भोट हाल्न गाउँ गएका कारण नेपालगञ्जका धेरैजसो होटल बन्द भएका छन् ।
निर्वाचनले सहरमा भन्दा गाउँमा चहलपहल बढाएको छ । पेसा तथा व्यवसायमा व्यस्त हुँदै आएका सर्वसाधारणले निर्वाचनलाई गाउँ पुगेर घरपरिवारसँग भेटघाट गर्ने अवसरका रुपमा पनि लिएको उहाँको भनाइ छ ।
सहरमा पेशा तथा व्यवसाय गर्ने सर्वसाधारण निर्वाचनमा भाग लिन गाउँ फर्किएपछि यतिबेला सहरमा भन्दा गाउँमा चहलपहल बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो । बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिब छ हजार २०० परिचालन भएका छन् ।
निर्वाचनका लागि जिल्लाका आठवटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी दुई हजार २०० परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचनका लागि बाँकेमा चार हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल छन् । जिल्लाका १३६ मतदान केन्द्रमध्ये १०६ मतदान केन्द्र अत्यन्तै संवेदनशील र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी यसैअनुरुप सुरक्षा प्रबन्ध मिलाइएको छ ।