काठमाडौं: नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
बिहीबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त पाँच डीआईजी पदमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, र गोबिन्द थपलियालाई सिफारिस गरेको हो।
प्रहरी प्रधान कार्यालयले डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सार्वजनिक गरेको छ।
सिफारिस गरिएको सूची मन्त्रिपरिषद्को अनुमोदनपछि कार्यान्वयनमा आउनेछ।
पहिलो नम्बरमा डीआईजीमा सिफारिस भएका कार्की प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। सुदूरपश्चिम घर भएका भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, आचार्य लागु औषध नियन्त्रण ब्यूरो, पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र थपलिया मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखामा कार्यरत छन्।
अर्जुन चन्द ठकुरी डीआईजीबाटै अवकास भएपछि एउटा दरबन्दी रिक्त भएको थियो। बाँकी चार डीआईजी भने एआईजीमा बढुवा भएका थिए। दुर्गा सिंह चन्द र भरतबहादुर एआईजीमा बढुवा भएपछि अरु दुई वटा पद रिक्त भएका थिए। बोहरा भने एआईजीबाटै अवकास भइसकेका छन्।
यस्तै कुवेर कडायत र रविन्द्र केसी एआईजी बढुवामा सिफारिस भएपछि उक्त स्थानमा पनि बढुवा सिफारिस गरिएको हो।