काठमाडौं: प्रहरीको ‘इन्स्पेक्टर हुँ’ भनेर ठगीको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित थापाचोक घर भएका ३८ वर्षीय सुदीप थापा रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार थापालाई थापाचोकबाटै पक्राउ गरिएको हो।
आरोपीले इन्स्पेक्टरको युनिफर्म लगाएको फोटो देखाएर प्रलोभनमा पारेर ठग्ने गरेको आरोप छ। उनले क्यानडा र अष्ट्रेलिया पठाउँछु भनेर ठग्ने गरेको आरोप छ।
अनुसन्धान कार्यमा खटिएको प्रहरी टोलीका अनुसार आफूलाई इन्स्पेक्टर बताउने थापाले दज्र्यानी चिह्न नै उल्टो लगाएका थिए। सोही दज्र्यानी चिह्नले उनी नक्कली इन्स्पेक्टर भएको पुष्टि भएको थियो।
पीडितले उजुरी दिएको एक हप्ताभित्र नै प्रहरीले थापालाई पक्राउ गर्न सफल भएको हो। नक्कली इन्स्पेक्टर थापा सक्कली प्रहरीको सलाम खाँदै हिँडेका थिए।
उनी कोटेश्वर प्रहरी प्रभाग र नयाँ बानेश्वर प्रहरी वृत्तमा भित्र छिर्ने गरेको खुलेको हो। प्रहरी कार्यालयभित्र छिरेर प्रहरी जवानहरूसँगै बसेर फोटो खिचेर फर्किने गरेको खुलेको छ। कीर्ते मुद्दामा अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयको टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ।
यस्तै उनलाई प्रहरीको नक्कली परिचयपत्र र विशेष बढुवा सिफारिस सूचीको कागजात तयार गरिदिने प्रेस सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ। कोटेश्वरस्थित मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक किशोर कुमार चौधरीलाई पनि पक्राउ गरिएको हो।