धनगढी: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कैलालीको गेटामा अगामी असारदेखि एमबीबीएसकाे पढाइ गर्न सकिने बताएका छन्।
मन्त्री पाैडेलले गेटामा तीन सय शैयाको अस्पताल सञ्चालन गरि आउँदो असारदेखि नै एमबीबीएसको पढाइ गर्न सकिने बताएका हुन्।
मंगलबार गेटा मेडिकल कलेजमा निर्माण गरिएका भाैतिक संरचनाकाे स्थलगत निरीक्षण गर्दै उनले चिकित्सा शिक्षाको अध्यापनका लागि तीन सय शैयाको अस्पताल कम्तीमा पनि तीन वर्ष चलेको हुनुपर्ने प्रावधान रहेकाे बताए।
गेटामा चालु आर्थिक वर्षभित्रै तीन सय शैयाको अस्पताल सञ्चालन गरेर अगामी आर्थिक वर्षदेखि एमबीबीएसको पढाइ सुरू गर्न सकिने उनकाे भनाइ थियाे।
अर्काेतिर ६ प्रदेशमा चिकित्सा शिक्षाको अध्यापन सुरू भइसकेको र सुदूरपश्चिममा अहिलेसम्म नभएका कारण विशेष निर्णय गरेर भएपनि एमबीबीएसको पढाइ गर्न सकिने उल्लेख गरे।
‘सुदूरपश्चिम बाहेकका ६ प्रदेशमा एमबीबीएसको पढाइ सुरु भइसकेको छ। यहाँ चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भन्दै तीन सय शैयाको अस्पताल बन्ने वित्तिकै एमबीबीएसको पढाइ गर्न सकिने विशेष निर्णय गर्नसक्छ, मन्त्री पाैडेलले भने,’मेरो प्रयास त्यसतर्फ रहेको छ।’
सरकारले विशेष निर्णय गरेर एमबीबीएसकाे पढाइ सुरू गरे सुदूरपश्चिमलाई न्याय हुने र सरकारले समेत सबै प्रदेशमा एमबीबीएसको पढाइ सञ्चालन गरिसकेको भन्न सक्ने अवस्था आउने बताए।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफू मन्त्री हुने बितिकै बोलाएर नै गेटामा अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि काम गर्नु भनेर निर्देशन दिएको समेत पाैडेलले स्मरण गरेका छन्।
उनले मेडिकल विश्वविद्यालय बन्दैनन् भन्ने मानसिकता त्याग्न आग्रह पनि गरे। तीन सय र ६ सय शैयाको अस्पताल चलेको ठाउँ, एमबीबीएस र एमडीको पढाइ भइरहेको ठाउँलाई विश्वविद्यालय बनाउन झन् सजिलो हुने भएकाले क्रमिक रुपमा हुने विकासमा शंका नगर्न मन्त्री पाैडेलकाे आग्रह थियाे।
गेटामा सरकारले करीब ७ अर्ब खर्च गरेर मेडिकल कलेज सञ्चालन गर्न भाैतिक संरचना निर्माण गरेकाे छ।
ती संरचनामा सरकारले सय शैयाकाे अस्पताल घोषणा गरेकाे छ तर अहिले ५० शैयाको अस्पताल सञ्चालनमा रहेकाे छ।