काठमाडौं: हमासले इजरायल आक्रमणको क्रममा कब्जामा लिइएकामध्ये थप ३४ बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।
समाचार संस्था बीबीसीले हमासका एक उच्च अधिकारीले रिहा गर्न लागिएका बन्दीहरूको नाम रहेको सूची प्राप्त भएको जनाएका छन्। सूचीमा एकदेखि ८५ वर्ष उमेर समूहका बन्दी छन्।
बीबीसीले हमासका ती वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, सो सूची इजरायलसँग सम्भावित युद्धविराम सम्झौताको लागि रिहाइ प्रक्रिया अगाडि बढाउन तयार पारिएको हो। हमासका ती अधिकारीले सूची इजरायल सरकारलाई समेत बुझाइसकेको बताएका छन्।
तर, इजरायल सरकारले भने अहिलेसम्म त्यस्तो कुनै सुची प्राप्त नभएको प्रतिक्रिया दिएको छ।
हमासले गत ७ अक्टुबर सन् २०२२ मा इजरायली भूमिमा प्रवेश गरी आक्रमण गरी एक हजार दुई सयभन्दा बढीको ज्यान लिएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो। मृत्यु हुनेमा दश नेपाली विद्यार्थी पनि थिए।
गाजामा युद्धविराम र बन्धक रिहाइको सम्झौताको प्रयास स्वरुप कतारमा लगातार वार्ता चलिरहेको छ। वार्ताको क्रममा आफ्नो कब्जामा रहेका ३४ बन्धकलाई रिहा गर्न हमास तयार भएको खबर पनि आएको छ।
यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले दक्षिण कोरियाको भ्रमणको क्रममा सोमबार प्रतिक्रिया दिँदै गाजामा युद्धविरामलाई लिएर दुई पक्षीय सहमति हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। यद्यपि, उनले त्यस्तो सहमति नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हाल्नुभन्दा अघि सम्भव नभएको पनि उल्लेख गरेका छन्।
सूचीमा छैन विपिनको नाम
इजरायल हमास लडाकुले मुक्त गर्न लागेका व्यक्तिहरूको सूचीमा नेपालका विपिन जोशी नरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासले उपलब्ध गराएको सूचीमा जोशीको नाम नरहेको बताएका हुन्।
सूचीमा १० महिला र ५० देखि ८५ वर्षसम्मका ११ पुरुष छन्। त्यसबाहेक यसअघि हमासले ‘मृत्यु भइसकेको’ भनेका केही बालबालिका पनि रहेका बीबीसीले जनाएको छ। उनीहरू सबै इजरायलकै नागरिक हुन्।
आक्रमणको क्रममा हमासका लडाकुहरूले कञ्चनपुरका विपिन जोशीसहित दुई सय ५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए। त्यसयता जोशीको अवस्था अज्ञात छ।
सन् २०२३ को नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेजमा हमासले नियन्त्रणमा लिएका केही व्यक्तिहरू दखिएका थिए। तीमध्ये एकजना नेपाली पनि रहेको इजरेली सेनाले जनाएको थियो।
नेपाली भनिएका ती व्यक्ति विपिन हुनसक्ने अनुमान नेपाली अधिकारीले गरेका थिए। विपिनका दाजु किशोरले पनि भिडियोमा देखिएका व्यक्ति आफ्नो भाइ नै रहेको बताएका थिए।
विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल तीव्र पारेको बताए पनि उनको अवस्था अझै थाहा हुन सकेको छैन।
एक महिनाअघि मात्रै राजदूत नियुक्त भएर इजरायलको राजधानी तेलअभिभ पुगेका पण्डित नेपालीहरू मारिएको र विपिन अपहरणमा परेको गाजा नजिकैको शहर किबुत्ज अलुमिम पुगेर घटनाक्रमबारे जानकारी लिएका थिए। विपिनको खोजीमा सम्भव सबै प्रयास गरिरहेको बताउँदै राजदूत पण्डितले भने, ’विपिन जोशीको खोजीमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ। यदि सकुशल भए उनी मुक्त हुने आशा गर्न सकिन्छ।’