काठमाडौं: प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट हालै निष्कासित नेता भीमबहादुर रावलप्रति कडा आक्रोश व्यक्त गरेका छन्। पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको आठौँ बैठकमा नेताहरूको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले रावलको पक्षमा अनावश्यक सहानुभूति नदेखाउन चेतावनी दिए।
दुई साताअघि पार्टी सचिवालयको निर्णयले रावललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको थियो भने स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई छ महिनाका लागि निलम्बन गरिएको थियो। बैठकमा केही सदस्यले असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष ओलीले रावलको गतिविधिप्रति कडा टिप्पणी गर्दै भने, “भीम रावलको पक्षमा धेरै आँशु बगाउनु आवश्यक छैन।”
उनले रावललाई घुर्की, धम्की र स्वार्थसिद्ध गर्न निपुण व्यक्ति भन्दै कारबाहीलाई ढिलो भएको प्रतिक्रिया दिए। “खाएको खायै हुनुहुन्छ, मुख खाली छैन। उनी धम्क्याएर र लडेर खान सिपालु मानिस हुन्,” उनले थपे।
बैठकमा प्रधानमन्त्री ओलीले अघिल्लो वर्ष पार्टीद्वारा सञ्चालन गरिएको मध्यपहाडी लोकमार्ग यात्रा र काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्वका घटनाहरूलाई स्मरण गर्दै रावलको भूमिकाप्रति प्रश्न उठाए। उनले रावलको गृह जिल्ला अछाममा पार्टी कार्यक्रममा काँग्रेस कार्यकर्ताबाट स्वागत भए पनि रावल उपस्थित नभएको र गौरा पर्वका क्रममा युवाहरूलाई आफ्नो विरोधमा नाराबाजी गराउन प्रेरित गरेको आरोप लगाए।