धनगढी: कैलालीस्थित धनगढी उपमहानगरपालिकाको त्रिनगर नाकास्थित भन्सार र भन्सारका हाकिम अनन्त तिमिल्सिना विवादमा तानिएका छन्। हिजो (बुधबार) नाकाबाट पास हुँदै लाखौंको फलफूल बोकेको गाडी आधा धनगढी पुगेपछि भन्सार प्रशासन र सशस्त्र प्रहरी बल नेपाल विवादमा मुछिएको हो। यस अगाडी पनि पटकपटक भन्सारमा तस्करी, सेटिङ हुने गरेको भन्दै विवाद आउने गरेको थियो।
यद्यपि भन्सार छलेको भागेको गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। सो भारतीय गाडीलाई सशस्त्रले १५ लाख १९ हजार रुपैयाँ बिगोसहित नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएपछि सशस्त्र र भन्सार प्रशासनको कमजोरी फेरि सतहमा आएको हो।
यूपी २५ एफटी ०९३८ नम्बरको भारतीय ट्रकमा भन्सार छल्दै अङ्गुर, अनार, र अम्बा धनगढी भित्र्याइएको थियो।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा निगरानीमा रहेका चेकपोस्टहरू सहजै छल्दै गाडी सहिद गेटसम्म आइपुग्नु सुरक्षा व्यवस्थापनमा ठूलो कमजोरीको संकेत हो।
“यसअघि पनि यस्ता घटना भएका छन्, तर उचित कारबाही र अनुगमनको अभावमा समस्या ज्यूँका त्यूँ छ,” स्थानीय व्यवसायीले बताए। यस्तै ती व्यवसायीका अनुसार सशस्त्रले सबै कागजात भएको सो गाडी चालकले भुलचुकमा भन्सार छलेको भन्दा पनि दादागिरी शैलीमा नियन्त्रणमा लिइएको आरोप लगाए।
उनका अनुसार ब्यारेल र त्यस अगाडिको चेकपोस्टको सशस्त्र प्रहरीले चालकलाई भन्सार काट्न लगाउनुपर्ने अर्थात् त्यसबारे चेकजाँच गर्नुपर्नेमा त्यस्तो नगरिएको हो।
उता सशस्त्र प्रहरीले भने गाडीसहितको सामान बुझ्न कैलाली भन्सार कार्यालयले पटकपटक आनाकानी गरेको अर्को आरोप लगाएको छ। यद्यपि सशस्त्र प्रहरी, कैलालीका प्रमुख दलबहादुर पाण्डेका अनुसार सो गाडीसहित सामान हिजै भन्सारमा बुझाइएको छ।
स्रोतका अनुसार पछिल्लोसमय सशस्त्र, नेपाल प्रहरी र भन्सार कार्यालयको सेटिङमा तस्करी मौलाएको छ भने यस्ता घटनामा सरोकारवाला मौन छन्।
धनगढी र कैलाली क्षेत्रमा यसअघि पनि भन्सार छलकपटका कैयौं घटना सार्वजनिक भएका छन्। भारतीय गाडीहरूबाट भन्सार नतिरी फलफूल, खाद्यान्न र अन्य सामग्री भित्र्याउने क्रम रोकिएको छैन। विशेषगरी सीमा क्षेत्रमा सशक्त अनुगमन, प्रविधि प्रयोग र भन्सार प्रशासनको सक्रियतामा सुधार नभएसम्म यस्ता घटनाहरू दोहोरिन नछोड्ने स्पष्ट छ।
सुरक्षा र प्रशासनको कमजोरीका कारण राज्यले राजस्व गुमाउनुका साथै, यसले अवैध व्यापारलाई थप प्रोत्साहन दिने जोखिम रहेको जानकारहरू बताउँछन्।