काठमाडौं– स्थानीय तह निर्वाचनको मतदान देशभर एकैसाथ सुरु भएको छ । नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक एकैपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । अघिल्लो २०७४ को स्थानीय तहको निर्वाचन दुई चरणमा गरिएको थियो ।
निर्वाचनमा देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिनिधि छनोटका लागि मतदाता मतदान केन्द्रमा पुगी लामवद्ध भइरहेका छन् ।
आजको ऐतिहासिक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् ।
स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका छन् ।
प्रदेश १ मा ३३ लाख ४७ हजार ३४८, मधेसमा ३३ लाख, ३१ हजार १७०, बागमतीमा ३४ लाख १२ हजार ८६९, गण्डकीमा १७ लाख ८९ हजार ४११, लुम्बिनीमा ३२ लाख १९ हजार ४५७, कर्णालीमा १० लाख एक हजार २८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता रहेका छन् ।
निर्वाचनमा ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला गरी कूल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन् ।