काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले इजरायलबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको बताएकी छन्। उनले जोशी सकुशल फर्केर आउनेमा आफू ढुक्क रहेको बताईन्।
आज सिंहदरबारस्थित संसद सचिवालयमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ। उहाँ फर्केर आउनुहुन्छ भन्नेमा म ढुक्क छु।’
त्यसका लागि कतारस्थित नेपाली राजदूतले त्यहाँका विदेशमन्त्रीसँग कुराकानी गर्ने उनको भनाई छ।
कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञानका विद्यार्थी हुन्। उनी इजरेल र नेपाल सरकारबीचको सम्झौताअनुसार कृषिविज्ञानका विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरेल गएका थिए। उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए।
कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा परेर मृत्यु भएको थियो। अरू चार जना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुईजना भने सकुशल थिए। त्यसयता पीडामा रहेको उनको परिवार विपिनको बाटो कुरी बसेका छन्।