धनगढी: कैलालीको अत्तरियामा रहेकोे दुर्गा मन्दिरमा भएको हत्या प्रकरणको अनुसन्धान अझै जारी छ। प्रहरीले आरोपित समातेको भनेपनी थप अनुसन्धान जारी नै रहेको जनाएको छ।
चैत २७ गते मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्या आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको थ
थियो। उनीहरूमध्ये एक जनाले आरोप स्वीकार गरेको पनि बताइन्छ।
तर पनि प्रहरी स्रोतले घटनाक्रम र अनुसन्धानका क्रममा प्रमाणहरु दुरुस्तै म्याच नभएको जनाएको छ। सोही कारण हत्याकाण्डको अनुसन्धानमा अझै उल्झन रहेको बताइएको हो।
अत्तरियास्थित सडक पेटीमा बस्दै आएका कैनीलाई अत्तरियामै सडक पेटीमा बस्दै आएका एक अपाङ्गता भएका ब्यक्तिले हत्या गरेको स्वीकारेका हुन्। एक खुट्टा नभएका ती अपाङ्गता भएका ब्यक्ति श्रीमतीसहित अत्तरियामा बस्दै आएका छन्। ति व्यक्तिले मन्दिरमा सुतेका कैनीको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको स्वीकारेको बताइएको छ। उनले आफ्नो श्रीमतीलाई जिस्क्याएको भन्दै हत्या गरेको प्रहरीलाई बयान दिएका हुन्।
उनले भनेअनुसार मन्दिरभित्र रगत भेटिए पनि शव भने मन्दिर भन्दा करिब २० मिटर तल फेला परेको थियो। जसले गर्दा प्रहरी अपाङ्गता भएका व्यक्तिले एक्लै हत्या गरेर शव अर्को ठाउमा पुर्याएको हुन सक्नेमा विश्वस्त हुन सकेको छैन।
यस्तै घटनास्थल हेर्दा मन्दिरमा हत्या गरेर शव उठाएर अर्को ठाउँमा पुर्याएको जस्तो देखिएको छ। एक खुट्टाका अपाङ्गता भएका व्यक्तिबाट सम्भव नभएको भन्दै प्रहरी थप प्रमाण जुटाउन लागेको छ।
घटनाको इलाका प्रहरी कार्यालय मालाखेतीसँगै जिल्ला प्रहरी कार्यालय कैलाली, प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोलीले अनुसन्धान गरिरहेको छ। मृत फेला परेका कैनीको प्रकरणमा पक्राउ परेकामध्ये दुई जना पुुरुष र एक महिला हुन्।
उनीहरुमध्ये शारीरिक अपांगता भएका पुुरुष र महिला एकअर्कालाई श्रीमान श्रीमतीका रुपमा चिनाउने गर्दै आएका थिए। प्रहरीले संकलन गरेको सीसीटीभी फुुटेजमा उक्त राति पक्राउ परेकामध्ये ती पुरुष मन्दिरभित्र प्रवेश गरेर केही समयमा फर्किएको देखिन्छ।
उनैले प्रहरीलाई कैनीको हत्या आफैँले गरेको बयान दिएका छन्। उनले आफ्नो श्रीमतीलाई कैनीले जिस्काउने गरेको र आफूलाई अपांग देखेर होच्याउने गरेको बताउँदै ढुंगा प्रहार गरेर हत्या गरेको बयान दिएका थिए।
मृतकको स्थायी घर डडेल्धुराको अमरगढी नगरपालिका–७ हो। उनी केही वर्षयता अत्तरियाका सडक पेटीमा बस्ने अन्य व्यक्तिहरुसँगै अत्तरिया क्षेत्रमा माग्दै हिड्ने गर्दथे भने बढिजसो राति अत्तरियाकै दुर्गा मन्दिर परिसरमा बस्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटना भएको राति समेत उनी दुर्गा मन्दिरमै सुतिरहेका थिए।
तर उनी सुुतेकै अवस्थामा टाउकोमा ढुंगा प्रहार गरेर निर्मम हत्या गरेको पाइएको हो।
हत्या आरोपित एकजना पूर्व माओवादी लडाकु हुन्। प्रहरीले बरामद गरेका आरोपितका लुगामा रगत समेत लागेको भेटिएको छ। तर कैनी शारीरिक रुपमा आंपाग भएकाले बयान र घटनाको प्रकृति अनुसार एक्लैले हत्या गरेको कुरा असम्भव जस्तो छ।
र, यो पनि: अत्तरियामा कैनी हत्या प्रकरण: पूर्व लडाकुलाई समातेर अनुसन्धान, दिए यस्तो बयान