कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ६ स्थित चाँदनी डान्सबारमा पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, ती चार जना भारतीय नागरिकहरू एक डान्सबार नजिकैबाट एक पेस्तोलसहित समातिएका हुन्।
जबकी उनीहरु बनबासा नाकाबाट खुलेआम पेस्तोल बोकेर आएको देखिन्छ। यसले सीमा सुरक्षा रहेको सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीमाथि समेत गम्भीर प्रश्न उठाएको छ। नाकाबाट हतियार समेत तस्करी हुने गुनासो बढेका बेला सशस्त्र र नेपाल प्रहरी भने मुकदर्शक देखिन्छ।
सीमामा कतिसम्म फितलो चेकजाँच हुन्छ भन्ने कुराको पुष्टि यस घटनाले गरेको छ। यद्यपि प्रहरीले भने सो विषयमा अनुसन्धान भैरहेको जनाएको छ।
कञ्चनपुर प्रहरीका प्रवक्ता उमेश जोशीका अनुसार, पक्राउ परेका भारतीय नागरिकहरूको साथबाट यु.के ६ ए.आर ८४६ नम्बरको गाडी र पेस्तोलसमेत बरामद गरिएको हो।
पक्राउ पर्नेमा प्रेमनगर, खटिमाका संजय जेठी (३१ वर्ष), जीवन सिंह (३४ वर्ष), कोमल विष्ट (३१ वर्ष) र उमेद सिंह अधिकारी (३४ वर्ष) रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई मदिरा सेवन गरेको अवस्थामा पक्राउ गरिएको हो। यस घटनाले स्थानीय सुरक्षा स्थितिमा चुनौतीको विषय प्रष्ट पारेको छ।