कञ्चनपुर: सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल विष्टको मृत्यु भएको छ। विष्टले आफैंलाई गोली प्रहार गरेपछि गम्भीर अवस्थामा अस्पताल पुर्याइएका थिए।
बुधबार राति कोत गादर (हतियार राख्ने स्थान) मा ड्युटी गरिरहेका विष्टले आफ्नो टाउकोमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते उनलाई तत्कालै महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धनगढीको निसर्ग अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
निसर्ग अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
प्रहरीले विष्टले किन यस्तो कदम चाले भन्ने विषयमा अनुसन्धान जारी राखेको जनाएको छ। यस घटनाले प्रहरी जवानहरूको मानसिक स्वास्थ्यको अवस्थाबारे चासो बढाएको छ।
यसअघि पनि कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले गत पौष १२ गते आफैंमाथि गोली चलाएका थिए। उक्त घटनामा घाइते न्यौपाने हाल उपचाररत छन्।