धनगढी: नेकपा एमालेको कैलाली जिल्ला कमिटीमा युवा विद्यार्थी नेता किशोर शाहलाई जिम्मेवारी नदिइएको भन्दै युवा तथा विद्यार्थी रुष्ट भएका छन्। धनगढीका युवाहरुले शाहलाई जिम्मेवारी नदिइएको भन्दै सामाजिक सञ्जालमा गुनासो पोखेका छन्।
गुनासो पोख्नेमा अनेरास्ववियुका नेतादेखि पार्टीकै उपमहानगर कमिटीका पदाधिकारीसमेत छन्।
उनीहरूले शाह पार्टी र समाजको सेवामा विगत १६ वर्षदेखि सक्रिय रहेपनि नेतृत्वले सौतेलो व्यवहार गरेको आरोप लगाएका छन्। संगठन निर्माणमा महत्वपूर्ण योगदान दिएका शाहलाई जिल्ला कमिटी सदस्यमा मनोनित नगरेपछि कार्यकर्ताहरूबीच व्यापक असन्तुष्टि देखिएको हो।
अनेरास्ववियु कैलाली अध्यक्षका रूपमा उनले संगठनलाई जिल्लाभर स्ववियु चुनावमा एक नम्बर स्थानमा पुर्याएका थिए। त्यस्तै, आठौं जिल्ला अधिवेशनमा अत्यधिक मत ल्याउँदै जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका शाहलाई नवौं जिल्ला अधिवेशनमा प्राविधिक कारण देखाउँदै उम्मेदवारी दिन नदिएको आरोप छ।
तर, नवौं अधिवेशनपछि नेतृत्वमा पुगेकाहरूले शाहभन्दा जुनियर कार्यकर्ताहरूलाई जिल्ला सदस्यमा मनोनित गर्दा उहाँमाथि सौतेलो व्यवहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। “पार्टी र समाजका लागि निरन्तर खटिएको व्यक्तिलाई नेतृत्वले बेवास्ता गर्नु अन्यायपूर्ण छ,” एक कार्यकर्ताले भने।
सम्बन्धित पक्षले यस विषयमा कुनै प्रतिक्रिया नजनाएको भए पनि, कार्यकर्ताहरूले पार्टीभित्र पारदर्शिता र निष्पक्ष मूल्यांकनको माग गरेका छन्। पार्टी नेतृत्वले आसेपासे प्रवृत्ति त्यागेर योग्य कार्यकर्तालाई सम्मान दिनुपर्ने आवाज उठ्दै गएको छ।