धनगढी: कैलालीमा काठ तस्करी हुन थालेको छ। केही समययता सुस्ताएको तस्करी प्रहरीकै सेटिङमा हुन थालेको हो।
कैलालीको पूर्वी क्षेत्रका जंगलबाट काठ तस्करी हुने गरेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार विभिन्न पार्टीका युवा नेताहरु तस्करीमा संलग्न छन्।
रातिको समयमा कैलालीको मसुरिया, गौरिगङ्गा, चुरेक्षेत्र, मोहन्याल तथा बर्दगोरिया, टीकापुरका क्षेत्रबाट पनि तस्करी हुने गरेको बताइन्छ। यसैक्रममा अवैध काठसहित एक ट्र्याक्टर बेवारिसे अवस्थामा फेला परेको छ। शनिबार राति ९:३० बजेको समयमा टीकापुर नगरपालिका-६ नारायणपुर सडकखण्डमा अवैध काठका गोलियासहित ट्र्याक्टर बेवारिसे अवस्थामा फेला परेको हो।
ट्र्याक्टरमा पिपलको काठ ५ गोलिया, सिमलको १३ गोलिया, आरा २ थान, घन १ थान, बञ्चरो २ थान र बेल्चा १ थान फेला पारी टीकापुर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्र्याक्टरको नम्बर भने स्क्य्राच भएर स्पष्ट नभएको हुँदा खुल्न नसकेको कैलाली प्रहरीले बताएको छ।