धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनअनुसार सुदूरपश्चिम माओवादी संसदीय दलको नेता परिवर्तनबारे पहिलोपटक औपचारिक छलफल भएको छ। आइतबार बसेको संसदीय दलको बैठकमा खगराज भट्टलाई दल नेता बनाउने विषयमा पार्टी भित्रको विवाद समाधान गर्ने प्रयास गरिएको हो।
माओवादीका प्रदेशसभा सदस्य ओमविक्रम भाटका अनुसार गत असारदेखि नै खगराज भट्टलाई संसदीय दलको नेता बनाउने निर्देशन आए पनि यो विषय बैठकमा प्रवेश गर्न सकेको थिएन। तर, आइतबारको छलफलमा विवाद हल गर्दै दललाई एकताबद्ध बनाउने विषयमा कुराकानी भएको उनले बताए।
बैठकमा सहभागी सदस्यहरूले दल नेता परिवर्तनको विषय छलफलबाट टुंग्याउने र सबै प्रदेशसभा सदस्यहरू एकजुट भएर अगाडि बढ्ने सहमति गरेका छन्। बैठकमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रमेश धामीबाहेक सबै नौ जना सांसद उपस्थित थिए।
एक वर्षदेखि जारी विवाद
माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलमा २०७९ माघ १२ गतेपछि विवाद चुलिएको हो। सो समय संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता बनाइएको थियो। धामीको पक्षमा उपनेता अक्कलबहादुर रावल, प्रदेशसभा सदस्य शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक, र गीतादेवी माल थिए।
त्यसबेला भट्ट समूहमा रमेशसिंह धामी, जानकीदेवी कुँवर, र झपटबहादुर साउद मात्रै थिए। तर, हाल शिवसिंह ओली भट्ट समूहमा लागेपछि दुबै पक्ष पाँच–पाँच सांसदमा विभाजित छन्।
प्रचण्डको निर्देशन कार्यान्वयन हुन सकेन
अध्यक्ष प्रचण्डले पाँच पटकसम्म खगराज भट्टलाई संसदीय दलको नेता बनाउन निर्देशन दिएका भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। अघिल्लो बुधबार मात्र प्रचण्डले माओवादीका सबै प्रदेशसभा सांसदलाई खुमलटार बोलाएर दलभित्रको विवाद टुंग्याउन पहल गरेका थिए।
अब संसदीय दलभित्र थप छलफलपछि दल नेता परिवर्तन हुने वा विवाद अझै लम्बिने भन्ने स्पष्ट हुने बताइएको छ।