धनगढी: कञ्चनपुरमा सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १८ वटा बीओपी पुगेका छन्। बडुवाल टोलमा बीओपी स्थापना भएसँगै संख्या १८ पुगेको हो। जहाँ नेपाल-भारत १२९.५ किलोमिटर सीमा क्षेत्र छ।
बडुवाल टोलको बीओपीमा सई करन धामीको नेतृत्वमा २० जना सशस्त्र प्रहरी खटिएका छन्। यो बीओपीले दोधारा चाँदनी ३ को कञ्जुघाटदेखि जिरो प्वाइन्ट नयाँ बस्तीसम्मको ५ किलोमिटर क्षेत्र हेर्ने छ।
महाकालीपारि पनि जोगबुढा नदीले टाढा बनाएको बडुवाल टोल पश्चिमी सीमाको बिरानो बस्ती हो।
बडुवाल टोलमा जंगली जनावरको आतंक रहेकाले दोधाराचाँदनीका उपप्रमुख गंगादेवी जोशीले नागरिकलाई सुरक्षित राख्न सहज हुने बताइन्।
बडुवाल टोलमा स्थापना गरिएको बीओपीले तस्करी नियन्त्रणमा पनि भूमिका खेल्ने जनाइएको छ।
सशस्त्र प्रहरीले सीमित स्रोत-साधनका बीच पनि सीमामा सुरक्षा प्रदान गरिरहेको ३५ नं. गण झलारीका एसपी लोकेन्द्र भट्टले बताए।
उनले भने, ‘अहिले बडुवाल टोलमा पनि बीओपी स्थापना भएको छ, यहाँका बासिन्दालाई यसले सहज गर्नेछ।’ उनले सीमा क्षेत्रमा हुने चोरी तस्करीदेखि विभिन्न समस्या न्यूनीकरण हुने बताए।