काठमाडौं: सशस्त्र प्रहरी बल (एपीएफ) मा डिआइजी (डिपुटी इन्स्पेक्टर जेनेरल) का तीन पद रिक्त भएका छन्। हालै डिआइजी किशोर प्रधान अवकाश पाएपछि थप एक पद खाली भएको हो। यसअघि १६ भदौदेखि नै दुई पद रिक्त रहे पनि बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन।
९ नम्बर बाहिनीका बाहिनीपतिसमेत रहेका प्राविधिक पृष्ठभूमिका प्रधानको अवकाशसँगै सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको डीआईजी बढुवा अघि बढ्ने देखिएको छ। डीआईजी प्रधान चार जोड एकका कारण सेवा प्रवेशको २६ वर्षमै अवकाशमा गएका हुन्। अन्तिम समयसम्म पनि अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप हुने र आफू एआईजी बन्ने सपना देखेका उनी अन्ततः निराश हुँदै अवकाशमा गएका हुन्।
सोमबार साँझ सशस्त्र मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई बिदाइ समेत गरिसकिएको छ। त्यस अगाडि गत भदौ १६ गतेदेखि ३० वर्षे सेवाअवधिका कारण अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई अवकाशमा गएसँगै १६ मध्ये दुई डीआईजीको पद खाली थियो।
उनीहरूको अवकाशपछि स्रोतका अनुसार बढुवा प्रक्रिया सिनियर अधिकृतहरूको प्रतिस्पर्धा र राजनीतिक दबाबका कारण रोकिएको छ। स्टाफ कलेज गरेका एसएसपीहरूमध्ये मनिष थापा, कृष्णराज ढकाल, र प्रहरीबाट सशस्त्रमा स्थानान्तरण भएका कृष्णराज पाठक मुख्य दाबेदार मानिएका छन्। यस्तै एसएसपी दीपेन्द्र कुँवर पनि बढुवा हुन चाहिरहेका छन्।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्याल भने चाडै बढुवा गर्ने पक्षमा छन्। गृह मन्त्रालयले रिक्त पदहरू पूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाइरहेको स्रोत बताउँछ। तर, बढुवा प्रक्रिया निष्पक्ष रूपमा अघि बढ्छ वा आन्तरिक र राजनीतिक चलखेलले प्रभाव पार्छ भन्ने विषय अझै हेर्न बाकी छ।