बझाङ: नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंहमाथि चक्कु प्रहार भएको छ। उनीमाथि सोमबार राति ११ः३० बजेतिरको समयमा चक्कु प्रहार भएको बताइएको छ।
उनलाई कोठामा बोलाएर विनोद कठायतको समूहले आक्रमण गरेको बताइएको छ। उनको आँखा माथिल्लो भागमा चोट लागेको छ भने उनलाई तत्कालै जिल्ला अस्पताल बझाङ लगिएको थियो। उनी उपचारपछि घर फर्किसकेका प्रहरीले बताएको छ।
प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ। बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले घटनामा २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए। मदिरा सेवनपश्चात वादविवाद भई कुटपिट हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
नेपाल पत्रकार महासंघ बझाङले घटनाको घोर भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ। महासंघले यो आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भन्दै दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ।