धनगढी: कैलालीमा प्रतिबन्धित औषधिको बिक्री हुँदै आएको खुलेको छ। लम्कीचुहा नगरपालिका–४ बलियामा सञ्चालित इमानोयल फार्मेसीबाट अवैध रूपमा प्रतिबन्धित औषधि बिक्री भइरहेको पाइएको हो। यसै क्रममा प्रहरीले मेडिकल सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फार्मेसी सञ्चालक ३८ वर्षीय मेसक चौधरी र १९ वर्षीय अमृत चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराका अनुसार उनीहरू बिना अनुमति बिक्री गर्न नपाइने औषधिहरू वितरण गर्दै आएका थिए।
प्रहरीले फार्मेसी सञ्चालक मेसक चौधरीको साथबाट १७ ट्याबलेट नेमेडोल र अमृत चौधरीको साथबाट ४३ ट्याबलेट ट्रमेडोल बरामद गरेको छ। यस्ता औषधिहरूको अनधिकृत बिक्री मानव स्वास्थ्यका लागि गम्भीर जोखिमपूर्ण हुने भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा आउँदैन औषधिको अवैध कारोबार
कैलालीमा पछिल्लो समय प्रतिबन्धित औषधिको अवैध कारोबार बढ्दै गएको देखिन्छ। ट्रमेडोल र नेमेडोलजस्ता औषधिहरू अत्यधिक सेवन गरेमा गम्भीर स्वास्थ्य समस्या आउन सक्छ, तर पनि यसको कालोबजारी रोकिएको छैन।
प्रहरी स्रोतका अनुसार विभिन्न मेडिकल तथा अन्य माध्यमबाट यस्ता औषधिहरू खुलेआम बिक्री भइरहेको छ। यस्ता अनुगमन कारबाहीलाई कडाइ नगरेसम्म औषधिको कालोबजारी रोक्न गाह्रो हुने स्थानीयहरूको भनाइ छ।