काठमाडौं: संयुक्त राष्ट्र संघीय शान्ति मिसन (यूएन मिसन) मा जानका लागि नक्कली सहायक निरीक्षक (असई) लाई रकम बुझाएको आरोपमा सशस्त्र प्रहरीका ८ जनामाथि छानबिन सुरू गरिएको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयकै आग्रहमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली असई बनेका दिनेश सापकोटालाई पक्राउ गरेको छ।सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ का २६ वर्षीय सापकोटा चितवन ब्यूरोको असई भएको दाबी गर्दै रकम उठाउने कार्यमा संलग्न रहेको खुल्न आएको छ।
सशस्त्र प्रहरीको छानबिन अनुसार, काभ्रे १५ नम्बर हेडक्वार्टरका वरिष्ठ हवल्दार भीमप्रसाद सुवेदी, पशुपति बाहिनी मुख्यालयका हवल्दार राजकुमार लामा, सशस्त्र हेडक्वार्टरका हवल्दार ईश्वर कार्की, भक्तपुर २२ नम्बर गणका हवल्दार वेदबहादुर तामाङ, सहायक हवल्दार कमल बानियाँ, डग ह्यान्डलर शाखाका सहायक हवल्दार कुमार आले मगर, नुवाकोट १९ नम्बर गुल्मका सहायक हवल्दार शंकर थापा र जवान यज्ञ खत्रीले रकम बुझाएको स्वीकार गरेका छन्।
यी आठ जनाले प्रहरी हवल्दार टुकबहादुर थापामार्फत नक्कली असई दिनेश सापकोटालाई ३ लाख ३० हजार रुपैयाँ बैंक खातामार्फत बुझाएको खुलेको छ। टुकबहादुरले बैंकबाट रकम झिकेर सापकोटालाई पठाएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतका अनुसार सापकोटाविरुद्ध ठगी कसुरमा मुद्दा चलाइएको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले मुख्य मतियार देखिएका टुकबहादुरलाई सशस्त्र हिरासत (क्वार्टर गार्ड) मा राखिएको जानकारी दिएका छन्। बाँकी सात जनासँग बयान लिइसकिएको र उनीहरूविरुद्ध विभागीय कारबाही हुने बताइएको छ।