काठमाडौं: इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरी ५ महिना नपुग्दै विवादित बनेका छन्। उनीमाथि लागुऔषध ओसारपसार, जुवा संरक्षण, अवैध लेनदेन र ढुंगा–बालुवा व्यवसायीसँग मासिक रकम असूली गरेको आरोप लागेको छ।
तुलसीपुर पछिल्लो समय लागुऔषधको ट्रान्जिट बन्दै गएको छ। रुकुम र जाजरकोटबाट आउने गाँजा, चरेस र अफिम भारतसम्म निर्यात हुने गरेको छ। तर, डीएसपी ठकुरी आएपछि यहाँ लागुऔषध कारोबारी वा भरिया पक्राउ नपरेको प्रहरी स्रोत बताउँछ।
यस्तै तुलसीपुरमा दशैँ–तिहारको समयमा नियमित रूपमा जुवा खेलाइने गरेको थियो। प्रहरी स्रोतका अनुसार, डीएसपी ठकुरीले जुवा खेलाउनेहरूसँग मिलेमतो गरेर पैसा लिने तर अन्तिम समयमा जुवा रोक्ने गरेका थिए।
फागुन १ देखि सुरु भएको व्यापारिक महोत्सवका क्रममा बिंगो सञ्चालन गर्नका लागि डीएसपी ठकुरीले ८ लाख रूपैयाँ लिएको दाबी बिंगो सञ्चालकहरूले गरेका छन्। तर, पैसा लिएर पनि बिंगो सञ्चालन गर्न नदिएपछि सञ्चालकहरू आक्रोशित बनेका थिए। पछि १० लाख बुझाएपछि मात्र बिंगो १७ गतेसम्म निर्वाध रूपमा सञ्चालन गर्न दिइएको आरोप छ।
त्यस्तै डीएसपी ठकुरीमाथि ढुंगा–बालुवा व्यवसायीहरूसँग मासिक रूपमा पैसा असुली गरेको आरोप पनि लागेको छ। प्रहरी स्रोतका अनुसार, ६०–६५ जना व्यवसायीहरूसँग मासिक २५ हजारका दरले रकम उठाउने गरिएको छ।
एक व्यवसायीका अनुसार नगरपालिकाले समातेमा जरिवाना महँगो पर्ने भएकाले व्यवसायीहरूले प्रहरीलाई पैसा बुझाउन बाध्य भएका छन्।
तर डीएसपी अनिल ठकुरीले भने आफूविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका छन्। उनले जुवा सञ्चालनमा संलग्न व्यक्तिहरूले झुठो आरोप लगाएर आफूलाई फसाउन खोजेको प्रतिक्रिया दिएका छन्।
तर, प्रहरीभित्रै डीएसपी ठकुरीको क्रियाकलापलाई लिएर असन्तोष बढ्दै गएको बताइन्छ।