धनगढी: नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा सुरू भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको उक्त सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, डा. शशांक कोइराला, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, वीरबहादुर बलायर, डिना उपाध्यायलगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।
तर, सभापति पदका दाबेदार शेखर कोइराला भने सम्मेलनमा अनुपस्थित छन्।
१४औं महाधिवेशनमा सभापति पदका प्रत्याशी रहेका कोइराला आगामी महाधिवेशनका लागि पनि तयारी गर्दैछन्। तर, पछिल्लो समय पार्टीका विभिन्न भेला र सम्मेलनप्रति उनी असन्तुष्ट देखिएका छन्। यसअघि पोखरा र लुम्बिनीमा आयोजित प्रशिक्षण कार्यक्रममा पनि उनी नगएका थिए।
सुदूरपश्चिम सम्मेलनका लागि उनलाई औपचारिक आमन्त्रण गरिएको भए पनि सहभागी नभएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए। ‘हामीले निम्तो दिएका थियौँ, फोनसमेत गरेका थियौँ। तर, उहाँ आउनुभएन,’ खड्काले भने, ‘किन आउनु भएन भन्ने कुरा उहाँलाई नै थाहा होला।’
कोइरालाले यसअघि कतै निम्तो नआएको त कतै आधिकारिक व्यक्तिबाट खबर नआएको बताउँदै आएका थिए। सुदूरपश्चिम सम्मेलनमा भने उनलाई निम्त्याइएको भए पनि उपस्थित नहुनुले पार्टीभित्रको आन्तरिक असन्तुष्टि अझै मत्थर नभएको संकेत गरेको नेताहरू बताउँछन्।