कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा एक महिलाको रहस्यमय मृत्यु भएको छ। महाकाली नदीको बगरबाट बालुवा छानेर घर फर्केकी ५५ वर्षीय कसी सुनारको शुक्रवार राति मृत्यु भएको हो।
स्थानीय तथा आफन्तहरूले यो घटना आत्महत्या नभई हत्या भएको आरोप लगाएका छन्। मृतककी बुहारीका अनुसार कान्छी श्रीमती मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र कान्छी पत्नीका छोरा अर्जुन सुनार मिलेर घाँटी अठ्याएर कसी सुनारको हत्या गरेका हुन्।
घटनापछि प्रहरीले मिरा देवी, गोपाल र अर्जुनलाई नियन्त्रणमा लिएको छ। मृतककी बुहारीले लामो समयदेखि कसी सुनारलाई घर छोड्न दबाब दिँदै गालीगलौज र कुटपिट गर्दै आएको आरोप लगाएकी छन्।
बहुविवाहपछि भएको तनाव
करिब ३० वर्षअघि गोपाल सुनारले दुई महिनाकी गर्भवती कसी सुनारलाई छोडेर मिरा देवीसँग बहुविवाह गरेका थिए। त्यसपछि भारत गएका उनी केही समयअघि मात्र नेपाल फर्किएका थिए। उनी फर्केपछि सम्पत्तिको विषयलाई लिएर झगडा हुँदै आएको मृतकका आफन्त बताउँछन्।
पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी
मृतककी परिवारले घटना हत्या भएको दाबी गरे पनि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरीले पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुलेर आउने बताएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।