धनगढी: ऐश्वर्य बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा माैन अवधीका बेला क्याम्पस प्रशासनले गम्भीर चलखेल गरेकाे आराेप लागेकाे छ। शनिबार राति १२ बजेदेखि माैन अवधि सुरू भएपनि क्याम्पस प्रशासन र निर्वाचन अधिकृत समेत रहेका पब्लिक प्राध्यापक संघका अध्यक्ष खेम पन्तले आचारसंहिता विपरीत गतिविधि गरेकाे आराेप लागेकाे छ।
अनेरास्ववियु कैलालीले पन्तले माैन अवधीमा विद्यार्थीका व्यक्तिगत विवरण अमुख संगठनलाई उपलब्ध गराउन भूमिका खेलेकाे आराेप छ। स्ववियु सभापति समेत रहेका अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले निर्वाचन अधिकृत र क्याम्पस प्रशासनले ज्यादती गरेकाे आराेप लगाए।
खड्काले निर्वाचन अधिकृतले माैन अवधिमा विद्यार्थीकाे व्यक्तिगत विवरण सार्वजनिक गर्ने, कांग्रेस निकट प्राध्यापकमार्फत विद्यार्थीलाई जिताउन भन्दै अभिभावकमार्फत फाेन गर्न लगाउने जस्ता काम गरिरहेकाे पाइएको बताए। उनले निर्वाचन अधिकृत, क्याम्पस प्रशासन र आईटी शाखाकाे भूमिकाबारे छानबिन हुनुपर्ने बताए।
साेमबार बिहान ८ बजेसम्म छानवीन गरेर क्याम्पसले यर्थाथ कुरा बाहिर नल्याए अनेरास्ववियु आन्दोलन गर्न बाध्य हुने उनकाे भनाइ छ। तर निर्वाचन अधिकृत पन्तले भने आफूमाथि लागेका आराेप पूर्ण रूपमा निराधार भएकाे दाबी गरेका छन्।
उनले विद्यार्थीकाे विवरणसँग सम्बन्धित तथ्यांक आफूसँग नभएर आईटी शाखासँग हुने बताउँदै चार दिनसम्म सिस्टम बन्द गर्ने सहमति भएकाे बताए।
बाहिर आएकाे विषयमा आफूसँग समेत धेरैले चासाे राखेका कारण छानवीन हुनुपर्ने उनकाे भनाइ थियो।
ऐश्वर्य क्याम्पसमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारी प्रतिस्पर्धामा छन्। नेविसंघले अध्यक्षमा दिपक भट्टलाई उम्मेदवार बनाएको छ भने अनेरास्ववियुले दिपेन्द्र भट्ट(दिपेन) लाई अध्यक्षको उम्मेदवार बनाएको छ। अखिल क्रान्तिकारीले भने विकास बिष्टलाई उम्मेदवार बनाएको छ।
अनेरास्ववियुका भट्टसँग स्ववियुको सचिव भएर काम गरेको अनुभव छ भने उनको नेतृत्वमा बलियो प्यानल खडा गरेका कारण फेरि योपटक पनि अनेरास्ववियुुले नै बाजी मार्ने चर्चा हुन थालेको बेला क्याम्पस प्रशासनले ज्यादती गरेकाे आराेप छ।