काठमाडौं: विराटनगरको रत्ना होटलको सम्राट क्यासिनोमा ‘ग्याङ फाइट’ भएको छ।
आइतबार राति करिब १२ बजे क्यासिनो परिसरमा एमाले नेता किरण लामा र रोनाल कँडेलको समूहसँग कांग्रेस निकट अभिषेक गिरीसहितको समूहको ग्याङ फाइट भएको हो।
क्यासिनोमा प्रवेश गर्न खोजेका लामा र कँडेलसँगको विवादपछि दुई समूहबीच कुटाकुट भएको प्रहरी स्रोत बताउँछ। आइतबार राति अभिषेक गिरी रत्ना होटलको क्यासिनोमा रहेका थिए। सोही बेला कँडेल र लामा क्यासिनोमा पुगेका थिए।
उनीहरुलाई क्यासिनोमा प्रवेश गर्न बाउन्सरले रोके। त्यसपछि विवाद उत्पन्न हुँदा कुटाकुट भएको बताइएको छ।
क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ। तर, क्यासिनो प्रवेश गरेको समूहबीच विवाद हुँदा कुटाकुट भएको घटना बाहिरिएको हो।
यता जिल्ला प्रहरी कार्यालय मोरङले दुवै समूह फरार रहेको जनाएको छ। उनीहरु प्रहरी घटनास्थल पुग्दासम्म भागिसकेको बताइएको छ।
आफूमाथि कुटपिट भएको भन्दै अभिषेक समूहका निकेश गिरीले रोनाल कँडेल र किरण लामाविरुद्ध जाहेरी दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
जाहेरी परेपछि प्रहरीले घटनामा संलग्नको खोजी तथा अनुसन्धान थालेको हो। उनीहरु सबै गुण्डागर्दीमा संलग्न भएको प्रहरीको रेकर्डमा छ।