धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा बसिरहेका विदेशी नागरिकले अझै जङ्गल छोडेका छैनन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सिडिओ गोगन हमालले बिहीबार २४ घण्टाभित्रै जङ्गल छाड्न निर्देशन दिएका थिए। तर उनको निर्देशन नाकाम बनेको देखिएको छ।
निर्देशनपछि १३५ जनामध्ये ४५ जनाले जङ्गल छाडेर गएपनी अझै ९० जना विदेशी पर्यटक त्यहीँ बसिरहेका छन्।
निर्देशनको अटेरी गरेपछि प्रहरीको एक टोली उनीहरू बसेको ठाउँमा गएको थियो। तर उनीहरूले ठाउँ नछाडेको बताइएको छ। स्थानीयका अनुसार १८ देशका उनीहरू त्यहाँ अर्धनग्न भएर विभिन्न किसिमको गतिविधि गर्दै आएका छन्।
सन् १९८० र ९० को दशकमा अमेरिकाबाहिर युरोप, ल्याटिन अमेरिका र एसियामा पनि यस्ता जमघट हुन थालेको बताइन्छ। रेन्बो ग्यादरिङको उद्देश्य स्वतन्त्र, नियमविहीन, पैसारहित र समुदायमैत्री जीवनशैली अपनाउनु रहेको बताइन्छ । यस अगाडि यस्तै घटना अछाममा हुँदा पनि बबाल भएको थियो।
त्यसबेला पनि रेन्बो फेमली ग्यादरिङ नाम दिएर यसैगरि अछामको रामारोशन क्षेत्रमा समेत विदेशी नागरिक प्रवेश गरेका थिए।