काठमाडौं: बझाङका मकरबहादुर धामी। जो पूर्व पत्रकारसमेत हुन्।
अहिले उनै धामीको जीन्दगीमा दुर्लभ संयोग जुरेको छ। बझाङको बुंगल नगरपालिका–२ का घर भएका धामी दम्पतीको जीन्दगीमा रोचक संयोग मिलेको हो।
यानिकी धामीले आफ्नै पत्नी प्रधानाध्यापक रहेको विद्यालयमा अध्यापन गर्ने मौका पाएका हुन्। उनकी श्रीमती ज्ञानु कुमारी भट्ट धामी २०७९ सालमा खोटाङबाट प्राथमिक तह तृतीय श्रेणी शिक्षक रूपमा सिफारिस भई श्री पिपलडाँडा आधारभूत विद्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुईपामा प्रधानाध्यापक थिइन्।
त्यस्तै, उनका श्रीमान् धामीले गत वर्ष २०८० मा सर्लाहीबाट अन्तर्वार्तामा असफल भए पनि यस वर्ष पुनः परीक्षामा सफल भई खोटाङबाट प्राथमिक तह तृतीय श्रेणी शिक्षक रूपमा सिफारिस भई श्रीमतीकै विद्यालयमा पदस्थापन भएका छन्।
त्यसपछि विद्यालयमा श्रीमान् धामीको श्रीमती प्रधानाध्यापक भट्टले औपचारिक रूपमा स्वागत गरेकी छिन्। यो संयोगले विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई समेत उत्साहित बनाएको छ।
शिक्षा क्षेत्रमा कार्यरत श्रीमान्-श्रीमती एउटै विद्यालयमा अध्यापन गराउने अवसर पाउनु निकै दुर्लभ मानिन्छ। उनीहरूले सहकार्य गरेर विद्यालयको शैक्षिक सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।