धनगढी: सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनः सञ्चालन गर्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षी दलहरूबीच छलफल अघि बढेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सभामुखको कार्यालयमा भएको छुट्टाछुट्टै बैठकमा दलहरू सहमतिको नजिक पुगेका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहले बोलाएको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक चाँडै सुचारु गर्नेबारे छलफल भएको छ। प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाहीका अनुसार छलफल सकारात्मक रहेको छ।
यसअघि, प्रदेश सरकारको फजुल खर्च कटौतीलगायतका माग राख्दै नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, राप्रपा, र स्वतन्त्र सांसदहरूले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए।
यता, सभामुख भीमबहादुर भण्डारीले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएर सत्तापक्ष र प्रतिपक्षसँग संवाद गरेका छन्। उनले कुनै पनि कारणले प्रदेशसभालाई अनिर्णयको बन्दी बनाउन नहुने बताउँदै बैठक चाँडै सुचारु गर्नुपर्ने धारणा राखेका छन्।
सर्वदलीय छलफल सकारात्मक रहेकाले केही दिनभित्रै प्रदेशसभा बैठक सञ्चालन हुने सम्भावना बढेको छ।