धनगढी: सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि १० विद्यार्थी संघसंगठनहरूले संगठन दर्ता गराएका छन्। २७ चैत्रमा हुने स्ववियु निर्वाचनका लागि सुपविको केन्द्रीय क्याम्पसमा १० विद्यार्थी संघसंगठनहरूले संगठन दर्ता गराएका हुन्। निर्वाचन संयोजक कर्णदेव भट्टले ७ विद्यार्थी संघसंगठनसहित ३ स्वतन्त्र विद्यार्थी समूहले संगठन दर्ता गरेको बताए।
संयोजक भट्टका अनुसार नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादीनिकट अनेरास्ववियू, अखिल (समाजवादी), बहुमतनिकट क्रान्तिकारी, प्रजातान्त्रिक विद्यार्थी संगठनसहित दीपेन्द्र भट्ट नेतृत्वको संयुक्त विद्यार्थी समूह, पुष्करराज पन्त नेतृत्वको स्वतन्त्र विद्यार्थी समूह र वीरेन्द्र सिंह नेतृत्वको स्वतन्त्र विद्यार्थी आवाजले संगठन दर्ता गराएका छन्। संघसंगठन दर्ता गराएसँगै स्ववियु निर्वाचनमा होमिएको विद्यार्थी संघसंगठनले जनाएका छन्।

संगठन दर्तापछि उम्मेदवारी टुङ्ग्याउने क्रम सुरु भएको छ। अहिलेसम्म पहिलोपटक अखिल क्रान्तिकारीले उम्मेदवार घोषणा गरेको छ।
क्रान्तिकारीबाट हेमराज अवस्थीलाई सभापतिको उम्मेदवार बनाइएको छ भने उनी चुनावी तयारीमा लागिसकेका छन्।