काठमाडौं: इलाका प्रहरी कार्यालय लहानका, सिरहाका प्रमुख तथा डीएसपी बिष्णु सोतीको जिम्मेवारी खोसिएको छ। स्रोतका अनुसार डीएसपी सोतीलाई बुधबार हेडक्वार्टर तानेर लागूऔषध नियन्त्रण व्युरोमा काज गरिएको छ। ब्युरोमा कार्यरत डीएसपी हिरेन्द्र रोकायालाई ईप्रका लाहानमा खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
यद्यपी उनी किन हेडक्वार्टर तानिए भन्नेबारे केही खुलाइएको छैन। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दिनेश आचार्यले उनको सवालमा मात्र होइन, प्रहरीमा भैरहेका आन्तरिक कारबाही तथा एसपी, डीएसपी तानिएको विषयमा स्पष्ट सूचना दिएका छैनन्। उनले कारण नखुलाएरै एसपी र डीएसपी तानिएको विषयमात्रै पुष्टि गर्ने गरेका छन्।
यस अगाडि सोमबार मात्रै प्रहरी हेडक्वार्टरले सिरहाका एसपी रमेश पण्डितको पनि जिम्मेवारी खोसेको थियो।
उनको ठाउँमा अर्का एसपी अनन्तराम शर्मालाई पठाइएको छ। त्यसअघि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको पनि जिम्मेवारी खोस्दै गृह मन्त्रालय तानिएको थियो।
पछिल्लो समय सिरहामा महायज्ञको नाममा दलितको घर नै भत्काइएकोदेखि रिंकु कुमारी सदायको मृत्यु रहस्यमय मृत्यु प्रकरण निकै विवादित बनेका थिए।