काठमाडौं: तस्करहरुले विभिन्न समयमा नेपालबाट विदेश पुर्याएका २१ वटा पुरातात्विक महत्वका कलात्मक मूर्ति नेपाल फिर्ता ल्याइएको छ। अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागले आज बिहान सम्बन्धित स्थानीय तहलाई हस्तान्तरणसमेत गरिसकेको छ।
यीमध्ये तीनवटा पौवा चित्र (१५–१८ औं शताब्दी)का रहेका छन्। यी मूर्ति काठमाडौंस्थित इटुम्बहालबाट वि. सं २०३७ मा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो।
आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति बान –१ (१२-१३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरु (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए।
मूर्ति हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली सम्पदाहरु संसारको जुनसुकै कुनामा पुगेपनि फिर्ता ल्याउन कोशिस गर्ने बताए। अब मूर्ति चोरेर विदेश लैजाने कुचेष्ठा कसैले गर्न नसक्ने उनको दाबीसमेत छ।
अहिलेसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, (तिब्बत), भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्वका मूर्तिहरु तथा कलात्मक वस्तु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन्। अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलियाबाट थप मूर्ति फिर्ताको लागि कूटनीतिक पहल भइरहेको छ।
संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्व भएका वस्तुहरुको संख्या १०४ पुगेको छ।