काठमाडौं: नेपाल प्रहरीका एक प्राविधिक सहायक निरीक्षक (असई) विरुद्ध मुद्दा दायर भएको छ। जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको सञ्चार शाखामा कार्यरत असई श्यामकुमार गिरी भनिने कुमार गिरीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर भएको हो।
उनले सेवा प्रवेश गर्दा पेश गरेको एसएलसीको प्रमाणपत्र नक्कली रहेको अख्तियारको आरोप छ। अख्तियारका अनुसार गिरी २०५७ फागुन ११ गते प्रहरी सेवाको जवान पदमा भर्ना भएका थिए। हाल बढुवा भएर प्राविधिक असईमा कार्यरत रहेका उनले जवान पदमा भर्नाको क्रममा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा पाइएको हो।
नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा नियुक्त भएर लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम सजाय हुन मागदाबीसहित गिरीउपर आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।