धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
अख्तियारको टोलीले बुधबार मन्त्रालयमा छापा हानेर महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको हो। अख्तियारको टोलीले बुधबार मन्त्रालयमा छापा हानेर कागजात संकलन गरेको मन्त्रालयका सूचना अधिकारी भोजराज पाठकले पुष्टि गरे।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट दिगो वन व्यवस्थापन कार्यविधि पास गर्ने तयारी भइरहेका बेला कार्यविधि निर्माण र पारित गराउने क्रममा ठूलो आर्थिक चलखेल भएको अडियो सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो।
उक्त अडियोमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको समेत संलग्नता देखिएपछि उनले पदबाट राजीनामा दिइसकेका छन्।
सार्वजनिक भएको अडियोअनुसार मन्त्री चौधरीसहित सचिवालयका केही कर्मचारी र वन माफियाबीच दिगो वन व्यवस्थापन कार्यविधि निर्माणको लागि आर्थिक लेनदेन भएको संकेत गरिएको छ।