काठमाडौं : थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। भेट नेपाली समयअनुसार शुक्रबार मध्याह्न ४ बजे हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को छैटौं सम्मेलनका अवसरमा ओली र मोदीबीच ‘साइडलाइन वार्ता’ हुने निश्चित भएकोे हो।
लामो समयदेखि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग ओली र मोदीबीच भेटवार्ताका लागि विशेष पहल गरेकी थिइन्।
भारतीय प्रधानमन्त्री थाइल्यान्डबाटै श्रीलंका भ्रमणमा जाँदै छन्। भारतीय समाचार संस्था एएनआईका अनुसार ‘बिमस्टेक’ मा सहभागी विभिन्न देशका नेताहरूसँग प्रधानमन्त्री मोदीको साइडलाइन भेटवार्ता हुने भनिएको छ। त्यही सन्दर्भमा प्रधानमन्त्री ओलीसँग पनि साइडलाइन भेटवार्ता हुन सक्नेछ भनेर उल्लेख गरिएको हो।
भेटको समय छोटो भए तापनि नेपाल र भारत सम्बन्धको सुदृढीकरण र आपसी हितका विषयमा छलफल हुने भनिएको छ। एजेन्डाका विषयमा अहिल्यै सबै कुरा निश्चित भएको छैन।
नेपाल सरकारले आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्दै छ। सरकारले उक्त कार्यक्रमको प्रमुख अतिथिको निमन्त्रणा पनि भारतीय प्रधानमन्त्री मोदीलाई दिएको छ।
प्रधानमन्त्री ओलीले त्यस विषयमा पनि बैंककमै भेट भएको अवसरमा भारतीय समकक्षीसँग छलफल गर्ने बताइएको छ। प्रधानमन्त्री ओली आफैंले सगरमाथा संवादका लागि समकक्षी मोदीलाई आग्रह पनि गर्ने भएका छन्।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच यसअघि गत असोज ६ गते न्युयोर्कमा साइडलाइन भेटवार्ता भएको थियो। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिका गएका बेला भेट भएको थियो।