काठमाडौं: ‘राजावादी’हरुको चैत १५ गते राजधानीको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा भएका घटना र क्षतिको विवरण संकलन भईरहेको छ।
प्रदर्शनमा नेपाल प्रहरीका ३ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) र २ इन्स्पेक्टर र सहायक निरीक्षक (असई) ५ सहित ५५ सुरक्षाकर्मी घाइते भएको जनाइएको छ भने सशस्त्रतर्फ ३ इन्स्पेक्टरसहित २५ सुरक्षाकर्मी गरी जम्मा ८० जना घाइते भएका छन्।
घाइते ८० मध्ये सशस्त्र प्रहरीका हवल्दार राजेन्द्र खड्का अहिलेसम्म पनि उपचारकै क्रममा अस्पतालमा रहेका छन् भने अन्य सबै डिस्चार्ज भएका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको रिपोर्ट अनुसार घटनामा प्रहरी बृत किर्तिपुरमा कार्यरत डिएसपी भुवनेश्वर शाह, एनसिबी कोटेश्वरमा कार्यरत डिएसपी हिरेन्द्र रोकाया, बृत बानेश्वरमा कार्यरत डिएसपी बिरेन्द्र गोदार घाइते भएका थिए।
यस्तै दुई जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) सबिन कुमार कार्की र उपेन्द्र आर्चाय पनि प्रदर्शनमा घाइते भएका थिए। त्यसैगरी ५ जना प्रहरी असई र अन्य दर्जाका ४५ जना गरी कूल ५५ जना प्रहरी घाइते भएको रिपोर्टमा उल्लेख छ।
त्यसैगरी प्रहरीका ७ वटा सवारी साधनमाथि प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेको समेत प्रहरीको रिपोर्टमा उल्लेख छ।
प्रदर्शनमा सशस्त्रका इन्स्पेक्टरहरू आशिष गैडा, पशुपति पुरी र पर्शुराम लामिछानेसहित २५ सुरक्षाकर्मी घाइते भएका छन्।
उक्त अवसरमा इन्स्पेक्टर गैडाको कुमको हड्डी फ्याक्चर भएको जनाइएको छ। सशस्त्रका प्रहरी हवल्दार राजेन्द्र खड्काको बाँया हातको बुढी औंला भाँचिएको छ। उनको हाल सशस्त्र अस्पतालमा उपचार भइरहेको छ। खड्काबाहेक सशस्त्रका सबै घाइतेहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
घाइतेमध्ये प्रहरी सहायक हवल्दार सुरेश थापाको नाकको हड्डी भाँचिएको छ भने सशस्त्र प्रहरी जवान चक्र ठगुन्नाको दाहिने हात भाँचिएको जनाइएको छ।
प्रदर्शन नियन्त्रणमा खटिएको सशस्त्रको भौतिक सामाग्रीहरु पनि क्षति भएको जनाइएको छ। सशस्त्र प्रहरी बरिष्ठ हवल्दार चन्द्रबहादुर बुढाले लिएको एउटा ग्याँस गन हराएको छ भने हेल्मेट, ढाला, एसएलआरको बडी कभर र पेस्तोल ग्रीफ पनि फुटेको पनि जनाइएको छ। प्रदर्शनका क्रममा सशस्त्र प्रहरीले १०४ राउण्ड ग्याससेल प्रहार गरेको जनाइएको छ।
चैत १५ गते नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा २ जनाको ज्यान गएको थियो।
प्रदर्शन हिंसात्मक हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजक र कीर्तिपुर नगरपालिका–४ बस्ने २९ वर्षीय सविन महर्जनले ज्यान गुमाएका थिए। भने, तोडफोड, आगजनी र लुटपाटका कारण करोडौँको क्षति भएको थियो।
घटना अनुसन्धानका क्रममा प्रहरीले हिंसाका लागि उक्साएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई समेत हिरासतमा राखेको छ। उनीहरूसहित ६६ जनाविरुद्ध बुधबार मात्र ६ दिन हिरासत म्याद थप गरिएको छ।
त्यस प्रदर्शनका जनकमान्डर तोकिएका दुर्गा प्रसाईं भने भागेर भारत पुगेको बताइएको छ।