काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निवासमा गएराति पुगेको प्रहरी टोलीको कार्यशैलीप्रति रास्वपाले कडा आपत्ति जनाएको छ। उच्च अदालत दाङको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै डिएसपी दीपक खड्काको नेतृत्वमा प्रहरी टोली बूढानीलकण्ठस्थित लामिछाने निवासभित्रै पुगेको थियो।
रास्वपाका अनुसार प्रहरी टोली सभापतिको निजी शयनकक्ष (बेडरुम)सम्म पुगेको थियो र लामिछानेलाई पक्राउ गर्ने क्रममा ‘अन्तिम इच्छा के हो?’ भनी प्रश्न गरिएको थियो। सामाजिक सञ्जालमा रास्वपा नेताहरूले यस कार्यशैलीलाई ‘राणाकालीन शैली’ भन्दै आलोचना गरेका छन्।
“अदालतको आदेश भन्दैमा यति अपमानजनक व्यवहार गर्नु जायज होइन,” रास्वपाका एक नेताले सामाजिक सञ्जालमा लेखेका छन्, “यो राजनीतिक प्रतिशोधको शैली देखिन्छ।”
यसअघि रुपन्देही जिल्ला अदालतले सुप्रिप सहकारी ठगी प्रकरणमा लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो भने सोही मुद्दाका अर्का अभियुक्त छविलाल जोशीलाई जेल पठाइएको थियो। तर उच्च अदालतको पछिल्लो आदेशपछि लामिछानेलाई पनि थुनामा पठाउने तयारीस्वरूप प्रहरी सक्रिय भएको थियो।
डिएसपी दीपक खड्का यसअघि काठमाडौंको सोह्रखुट्टेमा प्रहरी इञ्चार्ज थिए। २०७८ सालमा उनीमाथि अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको थियो र त्यसपछि उनी टेकुमा सरुवा भएका थिए।
प्रहरी प्रशासनले यस विषयमा औपचारिक प्रतिक्रिया भने दिएको छैन।