धनगढी: बाजुराको बडीमालिका नगरपालिका–९ चौराटाका ४२ वर्षीय सूर्य विष्ट बाउली खोलामा मृत अवस्थामा फेला परेका छन्। तीन दिनदेखि सम्पर्कविहीन रहेका विष्टको शव नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र नजिकैको बाउली खोलामा भेटिएको हो।
प्रहरीका अनुसार विष्ट सम्पर्कविहीन बनेको तेस्रो दिनमा उनको शव खोलामा फेला परेको हो। घटनास्थल नजिकै उनको मोबाइल फोन, एक जुत्ता र अर्को जुत्ता छुट्टाछुट्टै स्थानमा भेटिएको थियो। मोबाइल दुई दिनअघि ठूली साँगुमा, एक जुत्ता सडक किनारमा र अर्को जुत्ता खोलाको किनारमा फेला परेको थियो।
शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। विष्टको शवलाई पोष्टमार्टमका लागि बाजुरा जिल्ला अस्पतालमा राखिएको छ भने घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
यस घटनाप्रति मृतकका आफन्तहरूले हत्या भएको आशंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार राति मदिरा सेवन गर्ने समूहभित्रै विवाद हुँदा विष्टको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ। नियमित रूपमा सदरमुकाम मार्तडी दुध बिक्रीका लागि आउने विष्ट भैसी पालन व्यवसायमा संलग्न थिए।
प्रहरीले घटनाको सबै कोणबाट अनुसन्धान अगाडि बढाइएको जनाएको छ।