धनगढी: सुदूरपश्चिमको कैलालीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालयले हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। शुक्रवार २४ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममार्फत बाहिनीपति तथा डीआईजी दीपक अधिकारीले विवरण सार्वजनिक गरे।
उनले सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत सुदूरपश्चिमस्थित बाहिनीले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न कार्यहरुको समष्टिगत प्रगति विवरण सार्वजनिक गरेका हुन्।
जसमा उनले BIRD (Border Security, Internal Security, Revenue Support तथा Disaster Management) अवधारणालाई आत्मसात गर्दै सीमा सुरक्षा, आन्तरिक शान्ति, राजस्व सुरक्षण र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिएको जानकारी दिए।
प्राकृतिक विपद् व्यवस्थापनमा प्रभावकारी परिचालन
डीआईजी अधिकारीका अनुसार सुदूरपश्चिममा बाढी, पहिरो, आगलागी, चट्याङ्ग लगायत विभिन्न विपद् व्यवस्थापनमा सक्रिय भई २,१२५ जनाको सकुशल उद्धार तथा १४ जनाको मृत उद्धार गरिएको छ। यस्तै, ८१ वटा कृत्रिम घटना अभ्यासमार्फत २५,०६१ जना नागरिक तथा सुरक्षाकर्मीहरू लाभान्वित भएका छन्।
सामाजिक उत्तरदायित्वका पहलहरू
यस्तै ४५१ स्थानमा मठमन्दिर, विद्यालय र सार्वजनिक स्थल सरसफाइ गरिएको छ। साथै, ३०३ जना सशस्त्र प्रहरी कर्मचारीहरूले रक्तदान गरी ज्यान जोखिममा परेका व्यक्तिलाई जीवनदान दिएका छन्। नेपाल सरकारको “एक व्यक्ति, एक बिरुवा” अभियान अन्तर्गत ११,५४६ वटा बोट बिरुवा रोपिएको जानकारी पनि दिइएको छ।
राजस्व सुरक्षा र अपराध नियन्त्रणमा तीव्रता
गत आर्थिक वर्षमा रु. ११ करोड ६० लाखभन्दा बढीको अबैध राजस्व चुहावट नियन्त्रण गरिएकोमा यो वर्ष त्यो रकम बढेर रु. १८ करोड ६१ लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६०.३७ प्रतिशतले बढी हो। लागुऔषध कारोबारमा संलग्न ७२ जना, मानव बेचबिखनमा संलग्न ५१ जना व्यक्ति पक्राउ गरिएको छ।
सहकार्य र समन्वयमा जोड
सिमा सहजीकरण बैठक २१५ पटक, स्थानीय बासिन्दासँग १९५ वटा सशस्त्र प्रहरी कार्यक्रम, तथा २५,४५१ वटा संयुक्त र एकल गस्तीहरू संचालन गरिएको छ।
भौतिक पूर्वाधारमा प्रदेश सरकारको योगदान
सुदूरपश्चिम प्रदेश सरकारबाट भवन निर्माण, सिसी क्यामेरा खरिद, खानेपानी धारा जस्ता योजनाका लागि रु. ७ करोड ३१ लाख बराबरको बजेट विनियोजन भएकोमा बाहिनीले आभार व्यक्त गरेको छ। साथै, भविष्यमा पनि फिल्ड अस्पताल, पूर्वाधार निर्माण तथा उपकरण खरिदमा सहयोगको अपेक्षा गरिएको छ।
यस्तै डीआईजी अधिकारीले सशस्त्र प्रहरी बललाई आवश्यक साधनस्रोतको अभावमा केन्द्रको साथसाथै प्रदेश तथा स्थानीय सरकार, र विभिन्न संघसंस्थाहरुको निरन्तर सहयोग र सहकार्यको आवश्यकता रहेको भन्दै सबैप्रति आभार व्यक्त गरेका थिए।