धनगढी: कञ्चनपुरको भीमदत्त नगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा फेरि सीआईबी टोली परिचालन गरिएको छ। जसका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको २ सदस्यीय टोली महेन्द्रनगरमा खटिएर काम गरिरहेको छ।
स्रोतका अनुसार सीआईबी टोलीले निरन्तर निगरानी गर्दै आएको र अनुसन्धान गरिरहेको निर्मला प्रकरण थप नया क्लू फेला पारेको छ। सोही क्रममा टोली घटनास्थलमै खटिएर अनुसन्धान गरिरहेको हो।
टोली खटिएकोबारे सीआईबीका प्रवक्ता तथा एसपी सुधिर राज शाहीले महेन्द्रनगरपोष्टलाई पुष्टि गरे। उनका अनुसार सीआईबीले निर्मला प्रकरणको निरन्तर अनुसन्धान जारी राखेको छ। अहिले पनि सूक्ष्म अनुसन्धान जारी रहेकोमा टोली नै खटिएर अनुसन्धान गरिदैछ।
यता जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले भने महेन्द्रनगरमा टोली आएको विषयमा जानकारी नभएपनी स्थानीय प्रहरी टोलीले सो प्रकरणको छानबिन जारी राख्दै आएको बताए। उनका अनुसार समय-समयमा सीआईबी टोलीले पनि सो घटनाबारे अनुसन्धानका लागि टोली पठाउदै आएको छ।
पन्तको ५ वर्षअघि बलात्कार गरी हत्या भएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान थालेकोमा अहिलेसम्म सत्यतथ्य पत्ता लाग्न सकेको छैन।
हालसम्म आइपुग्दा निर्मलाको हत्या भएको छ वर्षमा अनुसन्धानका लागि छ वटा समिति बनेका छन्। तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। यो बीचमा एक सय २४ जनाको डीएनए जाँच, छ सय ५५ जनासँग सोधपुछ गरिए पनि नतिजा आउन नसकेको हो।
के हो निर्मला प्रकरण ?
कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त १० साउन २०७५ मा साथीको घरबाट बेपत्ता भइन्। भोलिपल्ट घरभन्दा १ किलोमिटर टाढा उखुबारीमा उनको शव फेला पर्यो। निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गर्यो। स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरे। डीएनए ‘म्याच’ नभएपछि विष्ट छुटे। नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो। निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भयो।
अपराध अनुसन्धानमा लापर्वाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहितका प्रहरी बर्खास्त भए।
तर पछि तत्कालीन एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाइ पाए। अहिले बिष्ट अवकाशप्राप्त पनि भैसकेका छन्।
त्यसपछि हालसम्म सीआईबीले विभिन्न टोली पठाए पनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन। सोही कारण पनि घटनास्थल नै निर्वाचन क्षेत्र रहेको हालका गृहमन्त्रीलाई असफल बनेको आरोप लाग्दै आएको छ।