धनगढी: बाजुराको बडीमालिका नगरपालिका–९ चौराटाका ४२ वर्षीय सूर्य विष्ट बाउली खोलामा मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले अनुसन्धान थालेको छ। अहिले घटनाको सूक्ष्म अनुसन्धान थालिएकोमा पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका बाजुराका प्रमुख, डीएसपी दिलिप कुमार गिरीले जानकारी दिए।
उनका अनुसार मृतक र उनका नातेदारहरुले सँगै बसेर मदिरा सेवन गरेपश्चात घटना भएको देखिएको छ।यस्तै मृतकको टाउकोमा चोट र कुममा घिस्रेको दागहरु पनि देखिएको डीएसपी गिरीले बताए।
शव जिल्ला प्रहरी कार्यालयबाट ४ किलोमीटरको दुरीमा रहेको रहेको खोलामा पानीमा फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र उनीसँग बसेर मदिरा सेवन गरेका नातेदारत्यसपछि आ-आफ्नो बाटो लागेको खुलेको छ भने अहिले प्रहरीले उनीहरूलाई सोधपुछ गर्न थालेको छ।
उता मृतकका आफन्तले भने निष्पक्ष अनुसन्धान र छानबिनको माग गरिरहेकोमा कुनै खालको निवेदन र जाहेरी भने आइनसकेको बताइएको छ।
मृतक तीन दिनदेखि सम्पर्कविहीन रहेका थिए। परिवारको सम्पर्कमा नरहेका उनको मृत्यु भएपछि घटना संकास्पद रहेको अनुमान गरिएको छ।
स्रोतका अनुसार घटनास्थल नजिकै उनको मोबाइल फोन, एक जुत्ता र अर्को जुत्ता छुट्टाछुट्टै स्थानमा भेटिएको थियो। मोबाइल दुई दिनअघि ठूली साँगुमा, एक जुत्ता सडक किनारमा र अर्को जुत्ता खोलाको किनारमा फेला परेको थियो।
शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नियमित रूपमा सदरमुकाम मार्तडी दुध बिक्रीका लागि आउने विष्ट भैसी पालन व्यवसायमा संलग्न थिए।
प्रहरीले घटनाको सबै कोणबाट अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
र, यो पनि: बाजुरामा विष्ट मृत भेटिए, हत्या आशंकामा प्रहरी अनुसन्धान