काठमाडौं: भारतीय राजनीतिज्ञ तथा नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय संयोजक भगत सिंह कोशियारी आज नेपाल भ्रमणमा आइपुग्ने भएका छन्। उनी आज दिउँसो पौने २ बजे एअर इण्डियाको उडानमार्फत नयाँ दिल्लीबाट काठमाडौं आउन लागेको स्रोतले जनाएको छ।
८३ वर्षीय कोशियारी भारतीय जनता पार्टी (भाजपा) निकट राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का वरिष्ठ नेता हुन्। उनी यसअघि भारतको महाराष्ट्र राज्यका गभर्नर तथा उत्तराखण्ड राज्यका मुख्यमन्त्री समेत भइसकेका छन्। सन् २००८ देखि २०१४ सम्म राज्यसभाका सांसद रहेका कोशियारीलाई भारतीय राजनीतिक वृत्तमा प्रभावशाली नेताका रूपमा चिनिन्छ।
कोशियारीसँगै भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारका प्रमुख सल्लाहकार पनि सोही उडानमार्फत काठमाडौं आउँदै छन्। यिनीहरूको भ्रमणलाई नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने अवसरका रूपमा हेरिएको छ।
कोशियारी नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्य तथा संयोजक समेत हुन्। उक्त समूहले नेपाल–भारत सम्बन्ध सुधारका लागि प्रतिवेदन तयार पारेको लामो समय भइसक्दा पनि भारतीय प्रधानमन्त्री कार्यालयले उक्त प्रतिवेदन बुझ्न मानेको छैन।
उनको भ्रमणले उक्त प्रतिवेदनको भविष्य, नेपाल–भारतबीचको असमझदारी तथा दीर्घकालीन साझेदारीका विषयमा पुनः बहस चर्किन सक्ने अनुमान गरिएको छ।