काठमाडौं: भारतीय राजनीतिज्ञ तथा नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय संयोजक भगत सिंह कोशियारी आज नेपाल भ्रमणमा आइपुग्ने कार्यक्रम स्थगित भएको छ। स्वास्थ्य समस्याका कारण उनी आज आउने कार्यक्रम रद्द भएको हो।
८३ वर्षीय कोशियारी भारतीय जनता पार्टी (भाजपा) निकट राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का वरिष्ठ नेता हुन्। उनी यसअघि भारतको महाराष्ट्र राज्यका गभर्नर तथा उत्तराखण्ड राज्यका मुख्यमन्त्री समेत भइसकेका छन्। सन् २००८ देखि २०१४ सम्म राज्यसभाका सांसद रहेका कोशियारीलाई भारतीय राजनीतिक वृत्तमा प्रभावशाली नेताका रूपमा चिनिन्छ।
कोशियारी नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्य तथा संयोजक समेत हुन्। उक्त समूहले नेपाल–भारत सम्बन्ध सुधारका लागि प्रतिवेदन तयार पारेको लामो समय भइसक्दा पनि भारतीय प्रधानमन्त्री कार्यालयले उक्त प्रतिवेदन बुझ्न मानेको छैन।
उनको भ्रमणले उक्त प्रतिवेदनको भविष्य, नेपाल–भारतबीचको असमझदारी तथा दीर्घकालीन साझेदारीका विषयमा पुनः बहस चर्किन सक्ने अनुमान गरिएको थियो। तर तत्काल त्यो भने हुन सकेन।