धनगढी: सुदूरपश्चिम प्रदेश कराते महासंघको आयोजनामा धनगढी रंगशालामा सञ्चालन भएको ‘प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१’ शनिबार सम्पन्न भएको छ। चैत्र २७ गतेदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका करिब ७०० कराते खेलाडीहरू, ५० जना रेफ्री, प्रशिक्षक तथा व्यवस्थापकसहित ८०० भन्दा बढीको सहभागिता रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कैलाली जिल्लाले २५ स्वर्ण पदक सहित प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै कञ्चनपुरले १८ स्वर्ण पदकसहित दोस्रो स्थान प्राप्त गर्यो भने अछाम जिल्ला ३ स्वर्ण पदकसहित तेस्रो स्थानमा रह्यो।
कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए। उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त र नेपाल कराते महासंघका संस्थापक अध्यक्ष दावा गुरुङ विशेष अतिथि थिए।
प्रतियोगिताको समापन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा प्रमुख अतिथि थिए। उनले विजयी खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरे।
समापन समारोहमा प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनार, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, कैलाली जिल्ला खेलकुद समिति अध्यक्ष ललित खत्री, सुरक्षा निकायका प्रतिनिधिहरू, प्रशिक्षक, खेलकर्मी, पत्रकार तथा विभिन्न खेल संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सामाजिक कार्यमा सक्रियता देखाउँदै आएको पूर्व तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दीपक उपाध्यायलाई नगदसहित सम्मान गरियो। उनले हालसम्म १०८ पटक रक्तदान गरिसकेको र सुदूरपश्चिम प्रदेश सरकारद्वारा स्वास्थ्य दूत पदमा नियुक्त भइसकेका छन्।
त्यस्तै, जापानमा रहेकी अन्तर्राष्ट्रिय कराते खेलाडी पुष्पा मडैलाई पनि विशेष सम्मान गरिएको थियो। उनी अनुपस्थित रहेकाले उनका बुबाले सम्मान ग्रहण गरेका थिए।
कार्यक्रमका अध्यक्षता सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेले गरेका थिए।